उपत्यकाको निषेधाज्ञा : निजी सवारीमा जोर बिजोर, बारअनुसार पसल खुल्ने (सूची सहित)

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । तर यसपटक निजी सवारी साधन पनि जोर नम्बर प्लेटको जोर बार र विजोर नम्बर प्लेटो विजोर बार चल्न दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

असार ७ गतेदेखि निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्न पाउनेछ । तर अरु सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन ।

पराजुलीका अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् । त्यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।

सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।

बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ पराजुलीले बताए । खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछ ।

उपत्यका प्रशासनले कोभिड–१९ भाइरसको ‘चेन ब्रेक’ गर्ने भन्दै १६ वैशाखदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो । त्यसयता डेढ महीनासम्म क्रमशः निषेधाज्ञा थपिँदै आएको थियो ।