उपत्यकाको निषेधाज्ञा खुकुलो बनाएर एक हप्ता थप्ने तयारी, साँझ ५ बजे सिडिओको बैठक

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौं : काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले लगाएको निषेधाज्ञा सोमबारबाट सकिँदैछ । त्यसैले निषेधाज्ञा थपको निर्णय गर्न आज साँझ ५ बजे प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

स्रोतका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका संकट व्यवस्थापन समिति (डीसीसीएमसी) ले पनि निजी सवारीसाधनलाई चल्न दिनुपर्ने सुझाव दिएका छन् । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने भन्ने निर्णय भएको छैन ।

आइतबार बसेको काठमाडौं जिल्लाको डीसीसीएमसीमा सहभागी एक अधिकारीले भने, ‘निजी गाडीलाई खोल्न दिने कुरा भएको छ, मोडालिटीबारे टुंगिएको छैन ।’ डीसीसीएमसीले खाद्यान्न पसलहरु पनि ४ बजेसम्म खोल्न सुझाव दिएको छ ।

अन्य व्यवसायलाई पनि बारअनुसार सञ्चालन गर्न दिनुपर्ने भनिएको छ । तर प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुले गृह मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमस) सँग पनि परामर्श गरेर निर्णय गर्नुपर्ने भएकाले निषेधाज्ञालाई खुकुलो बनाउने मोडालिटीको अन्तिम टुंगो लागिसकेको छैन ।