जैविक विषादी प्रयोगतर्फ उन्मुख हुँदै पाँचखालका किसान

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

पाँचखाल : पाँचखाल नगरपालिकाका करिब एक हजार अगुवा कृषकले एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधि (आइपिएम) कृषक पाठशालामा अध्ययन गरेका छन् ।

उनीहरुले विभिन्न चरणमा १८ महिने २२ थरिका एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधि (आइपिएम) कृषक पाठशालामा अध्ययन गरेका हुन् । समय र मौसमको तालिका मिलाएर पढाउनुको एउटै उद्देश्य हो, उनीहरुलाई तरकारी तथा अन्य बालीमा रासायनिक विषादी न्यूनीकरण गर्दै जैविक विषादी प्रयोगतर्फ लैजानु ।

तरकारी तथा अन्य बालीमा विषादी प्रयोग न्यूनीकरण गर्न पाँचखाल नगरपालिकाकै सामुदायिक तथा निजी माध्यमिक विद्यालयका विद्यार्थीलाई समेत यो वर्ष सचेतना कार्यक्रम गरिएको छ । विद्यालय तहदेखि नै विषादीको प्रयोग तथा यसको असरबारे जानकारी गराउँदा निकट भविष्यमा विषादी न्यूनीकरणमा ठूलो मद्दत पुग्ने अपेक्षासहित सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । पाँचखालमा सामुदायिक १३ र निजी सात माध्यमिक विद्यालय छन् ।

लभग्रीन नेपाल नामक संस्थाले मावि तहका विद्यार्थीलाई कक्षामै गएर अनधिकृत विषादी प्रयोग गर्दा मानव स्वास्थ्य, कृषि पर्यावरण प्रणाली तथा वातावरणमा पर्ने असरबारे भिडियो, अडियो तथा अन्य प्रस्तुतिबाट सचेतना गराएको हो । “विद्यालय तहदेखि नै विषादीबारे सचेत गराउँदा निकट भविष्यमै विषादी न्यूनीकरणमा मद्दत पुग्ने उद्देश्यले अभियान सञ्चालन ग¥यौँ”, लभग्रीनका कार्यकारी निर्देशक नारायण ज्ञवालीले भन्नुभयो । उहाँका अनुसार विषादी न्यूनीकरण अभियानमा कृषकको जागरुकता पाइएको छ ।

पाँचखाल नगरपालिका–१ चापागाउँका ३३ अगुवा कृषकलाई प्राङ्गारिक मल निर्माणबारे दिइएको तालीम बुधबार सकियो । यसअघि उनीहरुलाई हसेरा कृषि अनुसन्धान तथा तालीम केन्द्रमा प्राङ्गारिक कृषिसम्बन्धी पुनर्ताजगी तालीमसमेत दिइएको थियो । पाँचखाल क्षेत्र तथा भारतको केरला राज्यमा केही वर्षअघिसम्म अनधिकृत विषादी प्रयोगबाट परेको असर तथा हाल न्यूनीकरणपछिको अवस्थाबारे भिडियो, अडियो र डकुमेन्ट्रीमार्फत विद्यार्थीलाई जानकारी गराइएको थियो । पाँचखालमा आइपिएम, पशु व्यवस्थापन तथा स्वस्थ दूध उत्पादनजस्ता कृषक उपयोगी तालीम लभग्रीनले दिँदै आएको छ ।

संस्थाले वातावरणमैत्री एकीकृत दिगो विकास परियोजनाअन्तर्गत पाँचखाल क्षेत्रका कृषकलाई तरकारीमा विषादी तथा रासायनिक मल न्यूनीकरण गरी कृषकलाई प्राङ्गारिक कृषि उत्पादनतर्फ लैजान विगत दुई वर्षदेखि निरन्तर प्रयासरत छन् । पाँचखाल नपा–७ का शिवराज श्रेष्ठ रासायनिक विषादीको विकल्पमा आफैँ जैविक विषादी बनाएर बालीमा हाल्ने गर्नुभएको छ । “जैविक विषादी र मल बनाउन घरमा गाईवस्तु थपेको छु”, उहाँले भन्नुभयो । पाँचखाल नपा–६ का कृषक सीताराम दुलाल र केदार ढुङ्गानाको पनि बालीमा जैविक विषादी प्रयोग गर्ने तौरतरिका एउटै छ । “स्थानीयस्तरमा उपलब्ध जडीबुटीबाट जैविक विषादी तयार गरेर बालीमा प्रयोग गर्दा स्वस्थकर र उत्पादन लागत कम हुने गरेको छ”, ढुङ्गानाले भन्नुभयो । उहाँ आफैँ आफ्नो खेतबारीको माटो परीक्षणसमेत गर्नुहुन्छ ।

श्रेष्ठले आफ्नो २० रोपनी खेतबारीमा जैविक विषादी प्रयोग गरी केही वर्षदेखि प्राङ्गारिक तरकारी ‘सुरक्षित उत्पादन’ गर्दै आउनुभएको छ । पाँचखालका कृषक आइपिएम कक्षामा सिकेर आफैँले तयार गरेको जैविक विषादी प्रयोग गर्न थालेपछि पाँचखाल क्षेत्रका तरकारीलगायत बालीमा रासायनिक विषादी प्रयोगमा सचेत बन्दै न्यूनीकरणतर्फ लागेको बताइन्छ ।

यसैबीच सरकारी तथा निजीस्तरबाट सञ्चालित विभिन्न सेचतना कार्यक्रमले पाँचखालमा विषादी प्रयोग कम हुँदै गएको तथ्याङ्कले देखाएको छ । पाँचखालमा हाल उत्पादित तरकारीजन्य बाली विषादी रुकावट अवशेषको मापदण्डभित्रै रहेकाले ‘सुरक्षित उत्पादन’ भन्न थालिएको पाँचखाल नपा कृषि शाखाका कृषि प्रविधिक ईश्वर अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “नियमित परीक्षणबाट मापदण्डभन्दा निकै कम प्रतिशत देखिएकाले पाँचखालको तरकारी प्राविधिक हिसाबले ‘सुरक्षित उत्पादन’मा पर्दछ ।” कृषक पाँचखालको तरकारीमा विषादी बढी हुन्छ भन्ने आफूहरुमाथि लाग्ने आरोप जैविक विषादीको प्रयोगबाट चिर्ने अभियानमा लागिरहेका छन् । रासायनिक विषादी न्यूनीकरण गर्दै जैविक विषादी प्रयोगमा लागेकामा वातावरण प्रदूषण तथा मानव स्वास्थ्यमा पर्ने असर कम हुँदै जाने अपेक्षा गरिएको छ ।

पाँचखालका कृषकलाई प्रयोगशाला (रेपिड बायो एसे पेस्टिसाइड रेजिड्यू–आरबिपीआर ल्याव)मा आफूले उत्पादन गरेको तरकारीको विषादी अवशेषको मात्र परीक्षण गर्न ल्याउन पनि सबैमा अपिल गर्दै आइएको छ । केन्द्रमा करिब डेढ वर्षदेखि जिल्लाका विभिन्न स्थानका तरकारीको नमूना सङ्कलन गरी नियमित परीक्षण हुँदै आएको छ । सङ्कलित नमूनाको विषाद रुकावट अवशेष परीक्षण÷मापन गर्दा सुरक्षित मापदण्डभित्र रहँदै आएको जनाइएको छ । परीक्षणबाट पाँचखालको तरकारीमा विषादीको रुकावट प्रतिशत (इमिसन रेट) सरदर तीनदेखि नौ प्रतिशतसम्म झर्ने गरेको र १० देखि २० इमिसन रेटसम्मका तरकारी उत्पादन भइरहेको हालसम्मको परीक्षण प्रतिवेदनले देखाएको छ ।

वाग्मती प्रदेको विषादी अवशेष द्रुत विश्लेषण कार्यविधि, २०७५ ले ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा ४–५ दिन क्वारेन्टिनमा राखेर पुनःपरीक्षणमा ३५ प्रतिशतभन्दा कम नतिजा आएमा खानयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी ‘इन्हिविसन’ आएमा उक्त कृषि उपजलाई खान अयोग्य मानेर नष्ट गर्नुपर्ने उल्लेख गरिएको छ । प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले काभ्रेपलाञ्चोकसहित प्रदेशका चितवन, मकवानपुर, ललितपुर र नुवाकोट जिल्लामा आरबिपीआर ल्याव स्थापना गरेको छ ।