एक सर्को धुवाँ……टेक कडायत

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एकछिन अघि चलिरहेको मभित्रको म,
एकैछिनमा अस्थिर हुँदै अस्ताउँदै छु।
सबैथोक छोडी यहीँ स्वर्गको बाटो अँगाल्दै छु।

जिन्दगी के नै रहेछ र आखिर,
एक सर्को धुवाँ अनि अलिकति खरानी।
के घमण्ड गर्नु र खोई !
बिलाएर जाने सपनी।
सूर्यको किरणजस्तै अस्ताएर जाने जिन्दगी।

बाँचुन्जेल गर्‍यौ रिस डाह,
कमायौ अथाह सम्पत्ति।
गयौ आज अरूकै काँधमा चढी,
छोडी अथाह सम्पत्ति।

आखिर के रहेछ र जिन्दगी!
एक सर्को धुवाँ अनि अलिकति खरानी।

तिम्रा लागि सबै थिए तर तिम्ले, चिन्न सकेनौ ।
आज तिम्ले चिन्यौ तर उठेर, अँगाल्न सकेनौ।

खरानी हुँदै थियौ, तिमी बिस्तारै
तिम्रा यादहरू हराउँदै थिए, बिस्तारै।
तिम्रा कर्म छचल्किदै आँखामा
भावविह्वल हुँदै थिए, बिस्तारै।

जानु नै छ एक दिन त्यो बादलपारिको देशमा,
यो देह त्यागी आत्माको भेषमा।
के घमण्ड गर्छौ हे मानव हो
उडेर जाने यो जीवनमा ।

बस्ने ठाउँ त एकै रहेछ आखिर
जाने ठाउँ त्यही ।
आखिर के रहेछ र जिन्दगी,
एक सर्को धुवाँ अनि अलिकति खरानी।

हिजोसम्म दुःख गर्ने ऊ,
आज सुख-सयलको अनुभूति गर्दैछ
सम्पूर्ण दुःख यहीँ छोडी ।
यमवाहन चढी,
एउटा नयाँ यात्रा तय गर्दैछ ।

आखिर के रहेछ र जिन्दगी!
एक सर्को धुवाँ अनि अलिकति खरानी ।