अज्ञात समूहले राखेको बम निष्क्रिय

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

सङ्खुवासभा, पाँचखपन नगरपालिका–४ फापुङमा अज्ञात समूहले राखेको बम निष्क्रिय गरिएको छ । वाना–खाँदबारी सडकखण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रवक्ता सन्तोष बुढाथोकीले जानकारी दिनुभयो ।

बुधबार अज्ञात समूहले सो सडकखण्डमा बेवारिसे बम राखेको थियो । उक्त बेवारिसे बम आज बिहान ८ बजे बराह दल गुल्लको टोलीले निष्क्रिय पारेको प्रवक्ता बुढाथोकीले बताउनुभयो । बम कसले र कुन उद्देश्यले राखेको भन्ने खुल्न नसके पनि पछिल्लो गतिविधिका आधारमा नेत्रविक्रम चन्दका कार्यकताले राखेको हुन सक्ने प्रवक्ता बुढाथोकीको भनाइ छ । बम राख्ने समूहको खोजी तीव्र पारिएको बताइएको छ ।

खाँदबारी–वाना सडक खण्डमा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यलय वानामा खबर गरेका थिए । सङ्खुवासभामा यही मङ्सिर १ गते चैनपुर नगरपालिका–४ मैदानेमा चन्दका कार्यकर्ताबीच गोली हानाहान भएको थियो । उक्त घटनामा संलग्न भएका आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको जनाएको छ । चन्द कार्यकर्ताले पछिल्लो समय सङ्खुवासभामा आफ्नो गतिविधि बढाएपछि प्रहरीले पनि सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।