संकटका बीच खुसी साट्न आयो दसैं

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

ललितपुर : कोरोना भाइरसको महामारीका बीच नेपालीको महान् पर्व बडादसैं आज (शनिबार)बाट सुरु भएको छ । संकटका बीच पनि नेपालीहरू दसैंको आगमनसँगै खुसी साट्ने योजनामा जुटेका छन् । सुरक्षाका विधि तथा मापदण्ड अपनाएर दसैँ मनाउन सरकारले सम्पूर्ण नेपालीलाई आग्रह गर्दै आइरहेको छ ।

धर्मशास्त्रीले सुरक्षा विधि अपनाएर खुसी साट्दै चाडपर्व मनाउने तथा खुसी र उमंगसँगै मनोबल बढाउन सकिएमा कोरोनाविरुद्धको लडाइँमा सहजता आउन सक्ने बताएका छन् । यसपालिको दसैंमा कोभिड–१९ विरुद्ध लड्न सक्ने आत्मबल पैदा होस् भन्ने कामनासहित पूजाआजा गर्नुपर्ने धर्मशास्त्रविद् प्राडा. रामचन्द्र गौतमले बताए ।

कोरोनाविरुद्ध लड्न आत्मबल बढाउने विश्वास

शुद्ध आश्विन दुर्गा शुक्ल पक्ष प्रतिपदाका दिन बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेसँगै दसैं सुरु हुनेछ । दसैंमा हुने जमघट र भेटघाटलाई प्राथमिकता नदिए पनि घरघरमा दुर्गा भवानीको पूजाआजा गर्न भने कुनै समस्या नभएको संस्कृतिविद्देखि जनस्वास्थ्यविद्सम्मले सुझाव दिएका छन् ।

धर्मशास्त्रविद् गौतमले राजधानीसँग भने, ‘पूर्ण रूपमा सुरक्षा विधि अपनाएर परस्परमा खुसी साटासाट गरेर चाड मनाउँदा आत्मबल पनि बढ्न सक्छ , कोरोनासँग लड्ने सबैभन्दा ठूलो औषधि नै आत्मबल हो ।’

नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि शनिबार बिहान ११ बजेर ४६ मिनेटमा शुभसाइत तोकेको छ । ‘साइत खोज्नेले बिहान ११ बजेर ४६ मिनेटको समयमा जमरा राखेर घटस्थापना गर्नु राम्रो हुन्छ,’ समितिका अध्यक्ष समेत रहेका प्राडा। गौतमले भने ।

उनका अनुसार घटस्थापना गरिएको कलशको मुखमा नवदुर्गालाई आह्वान गरी नौ रात १० दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दुर्गा सप्तशती चण्डी, देवीभागवत, देवी स्तोत्रलगायत देवीको महिमागान गाइएका श्लोक वाचन एवं पाठ गरिन्छ ।

देशभरका शक्तिपीठमा दर्शन गर्न मिल्ने या नमिल्ने अन्योल नै छ । यद्यपि, कुनै कुनै मन्दिरमा घटस्थापनाकै दिनदेखि विशेष रूपमा भक्तजनको भीड लाग्ने भए पनि संक्रमण बढ्दै गएकाले भौतिक दुरी कायम गरी दर्शन गर्नुपर्ने अवस्था छ ।

प्रतिपदाको दिन पूजाकोठा, दसैँघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । कतै कतै भने ब्रम्हाको पनि थापना गरिन्छ । घटस्थापनाका दिन पूजाकोठामा घैंटो अथवा घडामा जल भरी माथिपट्टि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ । कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा या माटोमा जौ छरिन्छ ।

बिहानै उठेर नुहाइधुवाइ गरी चोखो भएर पूजाकोठामा बालुवा अथवा चोखो माटो राखी जौ र मकैको बिउ उमार्ने गरिन्छ । त्यही नजिकै थालीमाथि सुनको प्रतिमा राखी नवदुर्गा थाप्दै १० दिनसम्म पूजा गर्ने गरिन्छ । कहीँकहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन छ । जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्न जमरा उमार्ने गरिएको अध्यक्ष डा. गौतमले बताए ।

यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने गरिन्छ । विभिन्न नौ देवीको पूजा अर्चनापश्चात् दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिषेक पनि लिने चलन छ । यसरी लिइएको जलले आयु बढ्ने र राम्रो स्वास्थ्य हुने जनविश्वास छ । आजको राजधानी दैनिकमा समाचार छ ।