जङ्गली हात्तीले सामुदायिक वनमा छावा जन्मायो

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

कञ्चनपुर : कृष्णपुर नगरपालिका–२ वाणीस्थित महाकाली सामुदायिक वनमा जङ्गली हात्तीले छावा (बच्चा जन्माएको) पाएको छ । बिहीवार हात्तीले छावा पाएको हो । भर्खरै पाएको छावा सामुदायिक वनमा रहेको कुलोमा फसेपछि दर्जन बढीको सङ्ख्यामा रहेको हात्तीको बथानले निकालेर लगेको स्थानीय हरि चौधरीले बताए ।

“हात्तीले पाएको छावा जन्मेको केही समयमै हिँड्न थाल्यो”, उनले भने, “नजिकै खनिएको कुलोको माटोमा फसेपछि मानिसझै बथानका हात्तीले काठको प्रयोग गरी आधा घण्टा बढी समय लगाएर छावालाई निकालेर छाडे ।” नजिकैको सामुदायिक वनमा हात्तीले छावा पाएपछि टाढाबाटै हेर्नेहरुको घुइँचो लागेको उहाँले बताए । बस्तीमै आएर हात्तीले उपद्रो मच्चाउने डरले हात्तीको बथानलाई सामुदायिक वनको बाँसघारीबाट टाढा भगाइएको छ ।

सामुदायिक वन नजिकै मुक्तकमैया बस्ती छ । सामुदायिक वन संरक्षण गरिएपछि केही वर्षदेखि सुरक्षित बासस्थान र पर्याप्त आहाराका कारण हात्तीको बथान यस क्षेत्रमा पुग्ने गर्दछ । लालझाडी संरक्षण क्षेत्र नजिकैको महाकाली सामुदायिक वन हात्तीको पुरानो करिडरका रूपमासमेत रहेको छ । “सामुदायिक वन क्षेत्रमा हात्ती हेर्न जाने र जिस्काउनेहरुका कारण मानवीय क्षति हुन नदिनका लागि सबै जनालाई त्यस ठाउँमा नजानका लागि सेचत गराएका छौँ”, प्रहरी चौकी वाणीका प्रहरी सहायक निरीक्षक मोहन जोशीले भने, “सबडिभिजन वन कार्यालय वाणीका वनरक्षक, प्रहरी र सामुदायिक वनका पदाधिकारीको सहयोगमा हात्तीलाई वन क्षेत्रमा धपाइएको छ ।”

सामुदायिक वनले सार्वजनिक सूचना जारी गरेर वन क्षेत्रमा प्रवेशमा रोक लगाउनुका साथै वनक्षेत्र नजिकको बस्तीका बासिन्दालाई सचेत भएर बस्नका लागि आह्वानसमेत गरेको छ । भारतको दुधुवा नेशनलपार्क हँुदै हात्तीको बथान प्रतिवर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझाडी संरक्षण क्षेत्र हुँदै चुरे क्षेत्रमा आउने गरेको छ । धानमा बाला लाग्नै आँटेका बेला हात्तीको बथान यहाँ आइपुग्दछ । धान काटेर किसानले भित्र्याइसकेपछि मात्रै हात्तीको बथान पुरानै बासस्थान दुधुवा नेशनल पार्कमा फर्कने गरेको छ ।

पुनः गहुँ बाली पाक्नै लागेका बेला हात्तीको बथान यहाँ आइपुग्दछ । हात्तीको बथानले स्थानीय बासिन्दाको खेतीपातीमा व्यापक नोक्सानसँगै घर भत्काउने र घरभित्र राखेको अन्नसमेत खान पछि पर्दैन । प्रतिवर्ष जङ्गली हात्तीको आक्रमणमा परेर स्थानीय बासिन्दाको ज्यान जाने र घाइते हुने क्रमसमेत विगत तीन वर्षयता बढेको छ । निकुञ्ज हुँदै स्थानीय किसानको खेतमा पुग्ने हात्तीको बथानलाई रोक्नका लागि मेसवायर जडानको कार्यसमेत अगाडि बढाइएको छ ।

पारिश्रमिक खर्चेर स्वास्थ्यचौकीमा खानेपानी

पारिश्रमिकवापत पाउने रकम खर्चेर शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले स्वास्थ्यचौकीमा धारा जडान गरिदिनुभएको छ । वडा कार्यालयमै रहेको पिताम्बर स्वास्थ्यचौकीमा वडाध्यक्ष महराले नगरपालिकाबाट पाउने एक महिनाको पारिश्रमिकवापतको रु २२ हजार रकम खर्चेर धारा जडान गरेका हुन । स्वास्थ्यचौकीमा खानेपानीको धारा नहुँदा निकै समस्या थियो । स्वास्थ्यचौकी पुग्ने सेवाग्राही र कर्मचारीले खानेपानीकै लागि छिमेकका घरमा पुगेर खानेपानी ल्याउनुपर्ने अवस्था थियो ।

“नगरपालिकाबाट बजेटको अख्तियारी नआउँदा योजना सञ्चालन गर्न नसक्ने अवस्था आएपछि पाउँदै आएको पारिश्रमिकबाट धारा जडान गरिदिएँ”, वडाध्यक्ष महराले भने, “समाजले काम गर्नका लागि पठाएको हो । काम गरेवापतको पाइने रकम समाजकै लागि स्वास्थ्यचौकीमा लगाएको हुँ ।”

स्वचालित धारा जडान भएपछि स्वास्थ्यचौकीमा चौबीसै घण्टा पानी आउने भएको छ । अटोमेटिक बोरि¬ङ जडान गरी पानीको व्यवस्था मिलाइएको छ । धारा जडान भएपछि स्वास्थ्यचौकी पुग्ने बिरामी र स्वास्थ्यकर्मीले टाढाको बस्तीबाट पानी ल्याउनुपर्ने झन्झट हटेको छ । स्वास्थ्यचौकीमा दैनिक ३० देखि ७० सम्म बिरामी उपचारका लागि पुग्ने गरेका छन् । वडाध्यक्ष महराले अपाङ्गता भएका, अर्थाभाव झेल्दै आएका विपन्न परिवारलाई समेत सहयोग गर्दै आएका छन ।