आज विश्वकर्मा दिवस, धातु तथा धातुजन्य सामग्रीको विशेष पूजाआजा

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौँ : कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानकाे बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढ्दै गएकाले सुरक्षित भएर दिवस मनाउनुपर्ने अवस्था छ । गत चैत ११ गतेदेखि नै धेरै कलकारखाना बन्द छन् ।

खुला भएकामा पनि थोरै जनशक्तिले मात्र भौतिक दूरी कायम गरी काम गरिरहेका छन् । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

जन्म प्रशङ्ग

सृष्टिको रचनाको प्रारम्भमा भगवान विष्णु क्षीर सागरमा प्रकट भएका थिए । विष्णुकोे नाभी–कमलबाट ब्रह्मा उत्पन्न भएको धार्मिक ग्रन्थमा उल्लेख छ । ब्रह्मा पुत्रको नाउँ धर्म थियो, जसको विवाह वस्तु नाउँका महिलासँग भएको थियो । धर्म र वस्तुको संसर्गबाट सात पुत्रको जन्म भएको थियो । सातै पुत्रको नाउँ वास्तु राखियो जो शिल्पशास्त्रको कलामा पारागंत थिए । वास्तुको एउटा छोरा भयो जसको नाउँ यसै कारणले भगवान विश्वकर्मा राखियो । जसलाई प्रथम इन्जिनियर र मेसिनका देवता भनिन्छ । भगवान विश्वकर्माको अनेक रूप रहेको बताइन्छ । दुई बाहु भएका, चार बाहु एवं दस बाहु भएका तथा एक मुख, चार मुख एवं पंचमुख भएका । उनको मनु, मय, त्वष्टा, शिल्पी एवं दैवज्ञ नाउँका पाँच पुत्र थिए ।

यस्तो पनि मान्यता छ कि पाँचै छोरा वास्तु शिल्पको छुटटाछुटटै विधामा पारगंत थिए र उनीहरुले धेरै कुरोको आविष्कार गरेका थिए । यस प्रशंगमा मनुलाई फलाम, मयलाई काठ, त्वष्टालाई ताम्बा, शिल्पी इँट र दैवज्ञलाई सुन–चाँदीले जोडिन्छ ।

विश्वकर्माको कृति ?

इन्द्रको सर्वाधिक शक्तिशाली अस्त्र बज्रको निर्माण विश्वकर्माले नै गरेका थिए । शास्त्रका अनुसार भगवान विश्वकर्माले सृष्टिको रचना गर्न ब्रह्मालाई सहयोग गरे र संसारको रुपरेखाको नक्सा तयार गरेका थिए ।

रामायणमा वर्णन गरिएअनुसारको रावणको सुनको लंका विश्वकर्माले नै बनाएका थिए । भगवान शिवले पार्वतीसँग विवाह गरेपछि विश्वकर्माबाट सुनको लंका निर्माण गर्न लगाए । शिवले रावणलाई गृह पूजनका लागि बोलाए । पूजा पश्चात रावणले भगवान शिवसँग दक्षिणाको रुपमा सुनको लंका मागे । त्यसैले शिवले सो लंका रावणलाई दिएका थिए । सीताको खोजीमा लंका जादा हनुमानले उक्त सुनको लंका जलाइदिएका थिए । त्यसपछि फेरि रावणले विश्वकर्मालाई बोलाएर सुनको लंकाको पुनर्निर्माण गराएका थिए ।

उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे । इन्द्रप्रस्थ जुन महाभारतका पाण्डवको भव्य महल थियो, द्वारका भगवान कृष्णको नगरी थियो । पुष्पक विमानको निर्माण पनि भगवान विश्वकर्माले नै गरेको विभिन्न ग्रन्थमा उल्लेख छ ।

यसका अतिरिक्त देवताहरुको दैनिक उपयोगमा आउने समानहरु पनि उनले नै बनाएका थिए, कर्णको कुण्डल, विष्णु भगवानको सुदर्शन चक्र, शंकर भगवानको त्रिशूल र यमराजको कालदण्ड आदि ।

विश्वकर्माको पूजा किन गर्ने ?

देव शिल्पी भएकाले भगवान विश्वकर्मा मेसिनरी तथा शिल्प उद्योगसँग सम्बन्धित व्यक्तिहरुका लागि प्रमुख देवता मानिन्छन् । वर्तमान अवस्थामा कुनै पनि व्यक्तिले बिहानदेखि साँझसम्म कम्प्युटर, मोटरसाइकल, कार, मोबाइल, पानी तान्ने मोटर, मिल, टिभी अन्य बिजुलीका उपकरण आदि मेसिनरी उपकरणको प्रयोग गर्छन् । भगवान विश्वकर्मा यी सबै व्यक्तिहरुका लागि देवता हुन् । यसै कारण वर्तमान युगमा विश्वकर्माको महत्त्व पनि उत्तिकै बढी छ ।

‘पहिले शिल्पकारहरुले मात्र उनको पूजा गर्ने गरेकोमा हाल घरघरमा उनको पूजा हुन थालेको छ,’ सांस्कृतिविद चन्द्रमोहन झा पड़वा भन्छन् ।

विश्वकर्माको पूजा गर्ने हो भने मेसिनरी सामानले लामो समयसम्म आफूलाई साथ दिन्छ र आफूलाई धोका दिँदैन भन्ने मान्यता छ । आफूले प्रयोग गर्ने कुनै पनि मेसिनरी सामग्रीलाई राम्रोसँग सफाई गरेमा नै विश्वकर्मालाई खुसी तुल्याएको ठहर्ने जनविश्वास छ ।

भगवान विश्वकर्माको जयन्ती वर्षाको अन्त्य र शरद ऋतु प्रारम्भ हुने बेलामा मनाउने गरिन्छ । ज्योतिष शास्त्रका अनुसार यो दिन सूर्य कन्या राशिमा प्रवेश गर्छन् । सूर्यको गति अंग्रेजी तारिखसँग सम्बन्धित हुन्छ । त्यसैले कन्या संक्रान्ति पनि प्रत्येक वर्ष १७ सेप्टेम्बरमा पर्छ । प्रायः यही दिन पर्ने भएकाले विश्वकर्मा जयन्ती पनि १७ सेप्टेम्बरमा मनाइन्छ । हाम्रो नेपालमा १ असोजमा मनाउने परम्परा रहेको छ ।

विश्वकर्मा पूजाको दिन खासगरी औद्योगिक क्षेत्र, कारखाना, फलामका पसल, सवारी साधन सोरुम, सर्भिस सेन्टर, वर्कसप आदिमा पूजा गरिन्छ । यस दिन मेसिन सफा गरेर रंगरोगन गरी पूजा गरिन्छ । विश्वकर्मा पूजाका दिन मेसिनमा काम गर्न नहुने मान्यता भएकाले यस्ता कलकारखाना बन्द हुन्छन् ।

नेपालमा पनि विश्वकर्मा पूजा गर्ने संस्कृतिको विकास भइरहेको छ । कुनै पनि मेसिनरी कार्य गर्नेहरुले उनको पूजा गर्छन् । कुनै कार्यको शुभारम्भ गरेका बेला विश्वकर्माको पूजा अनिवार्य भएको जनकपुरधामका औषधी व्यवसायी प्रमोद अग्रवालको भनाइ छ ।

विश्वकर्मा भगवानका बारे

भगवान महादेवले ब्रहृमा र विष्णुलाई सृष्टिको सृजना र पालनको भिन्दाभिन्दै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए ।

विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे ।
भगवान विश्वकर्माको महत्त्व यो कुराले पनि प्रष्ट पार्छ कि उनको महत्त्वको वर्णन ऋग्वेदमा ११ ऋचा लेखेर गरिएको छ ।

उनको अनन्त र अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मूर्ति आदि रहेका छन् ।

जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरु विश्वकर्मा हुन् । सजिलो भाषामा भन्ने हो भने यो सृष्टिमा जुन कर्म सृजनात्मक हो, जुन कामले जीवको जीवन सञ्चालित हुन्छ, उनीहरु सबैको मूल विश्वकर्मा हो । ‘त्यसैले उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक ऊर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने विश्वास रहेको छ,’ सांस्कृतिवद् डा. भोगेन्द्र झा भन्छन् ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको छ ।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ ।

विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गरिन्छ ।

आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाए । हिन्दु धर्मालम्बीले औद्योगिक क्षेत्र, कलकारखाना, उद्योगहरु तथा विभिन्न फलामे औजारमा विश्वकर्मा पूजा गरे ।

कलकारखाना, उद्योगधन्दा, मर्मतकेन्द्र, ग्यारेज, सवारीसाधन र यन्त्रसँग सम्बद्ध स्थलमा बिहानै सरसफाइ गरी ध्वजापताका, रंगीचंगी माला रिवनको प्रयोग गरी विश्वकर्माको फोटो राखी विशेष पूजा गरिएको थियो ।

विश्वकर्माको सम्बन्धमा एउटा कथा पनि लोकप्रिय छ । प्रचलित कथामा भगवान विश्वकर्माको महत्त्वलाई स्थापित गरिएको जानकारहरु बताउँछन ।

कथाअनुसार वाराणसीमा धार्मिक व्यवहारबाट चल्नेवाला एउटा रथकार आफ्नो पत्नीको साथ बस्थे । आफ्नो कार्यमा उनी निपुण थिए । तर, विभिन्न स्थानमा घुम्दा अत्यधिक मेहनतपछि खानुबाहेक अन्य सम्पत्ति जोड्न सकेका थिएनन् ।

पति जस्तै पत्नी पनि पुत्र नभएका कारण चिन्तित थिइन् । पुत्र प्राप्तिका लागि विभिन्न साधु–सन्तकहाँ पनि जान्थे, तैपनि उनको यो इच्छा पूरा भएको थिएन ।

त्यसैबेला उनको एक छिमेकी ब्राह्मणले रथकारको पत्नीलाई सल्लाह दिए, ‘तिमी भगवान विश्वकर्माको शरणमा जाउ, तिम्रो ईच्छा पूरा हुनेछ ।’
‘यसपछि रथकार एवं उनकी पत्नीले अमावस्या तिथिमा भगवान विश्वकर्माको पूजा गरे जसबाट उनीहरुलाई धन–धान्य र पुत्र रत्नको प्राप्ति भयो र उनीहरु सुखी जीवन व्यतीत गर्न लागे,’ कथामा उल्लेख छ ।