फोहर नआउँदा भोकै मजदुर

गलकोट : कोरोना भाइरसका कारण सबैभन्दा बढी समस्या, सङ्कट र सकसमा दैनिक जीविकाका लागि काम गर्ने मजदुर छन् । तिनै मजदुरमध्येको बागलुङ र पर्वत जिल्लाको सिमाना मालढुङ्गा परिसरमा काम गर्ने मजदुरको कथा अझ बढी दुःखद् र समस्याग्रस्त छ ।
गिट्टी कुटेर, बालुवा चालेर, डम्पिङसाइट (फोहर विर्सजन स्थल)को फोहर सङ्कलन गरेर जीविका चलाउने मजदुरहरू बन्दाबन्दीको पहिलो चरणमा भोकभोकैसमेत बस्न विवश भए । शहरबजारको दुर्गन्धित फोहरको विसर्जनस्थलसँग यहाँका एक दर्जन महिलाको गहिरो सामाप्यिता छ । त्यही फोहरमा मोहोर खोज्ने मजदुर बन्दाबन्दीका अवधिमा डम्पिङसाइटमा फोहर नआउँदा भोकभोकै दैनिकी गुजार्नुपरेको अनुभव सुनाउँछन् । काम नपाएपछि चुलो नबल्दा भोकै बस्नुपरेको मालढुङ्गाका मजदुरहरूले दुखेसो व्यक्त गरेका छन् ।
अहिले जेनतेन पेट पाल्दै आए पनि बन्दाबन्दीको शुरुको एक महिना छाक टार्नै समस्या भएको बागलुङ नगरपालिकाको डम्पिङसाइटमा फोहर सङ्कलनबाटै गुजारा चलाउँदै आएका सुष्मा माझीले दुखेसो गरे । “शुरुको एक महिना त निकै समस्या भयो, कहिले एैँचोपैँचो मागेर छाक टार्न बाध्य भयौँ त कहिले भोकैसमेत बसेका थियौँ”, परिवारका अरु चार सदस्यको समेत अभिभावकत्व निभाइरहेकी माझीले भने, “नगरपालिकाबाट फोहरको गाडी नआउँदा कामविहीन भइयो, न त बालुवा, ढुङ्गा कालीगण्डकी किनारबाट निकाल्न पाइयो ।” एक्कासि चैत ११ देखि भएको लकडाउनले भोकै बस्न बाध्य बनाएको उनको भनाइ छ । नगरपालिकामा पुनः निषेधाज्ञा भएका कारण थप समस्यामा परेको उनको दुखेसो छ ।
कालीगण्डकीको दुवै किनार बागलुङ नगरपालिका–१ र कुश्मा नगरपालिका–१ मा करिब ८० परिवार बसोबास गर्दै आएका छन् । उनीहरू डम्पिङसाइटमा रहेको फोहर सङ्कलन, नदीबाट ढुङ्गा, बालुवा निकाल्ने तथा गिट्टी कुटेरै जीवन चलाउँदै आएका छन् । बागलुङ बजारमा सङ्कलन हुँदै आएको फोहर सहकारीको समन्वयमा बागलुङ नगरपालिकाले मालढुङ्गामा डम्पिङसाइट निर्माण गरेर फाल्दै आएको छ । यही डम्पिङसाइटमा कवाडी, कुहिएको खाद्यान्न र प्लाष्टिक सङ्कलन गरी यहाँका एक दर्जनभन्दा बढी महिलाले जीवन चलाउँदै आएका छन् ।
बागलुङ बजारको फोहरको डम्पिङसाइटमा नआउने हो भने १२÷१५ परिवारकै छाक बन्द हुने स्थानीय रतन परियारले बताए । “मालढुङ्गाको दुवैतर्फका मजदुरको दैनिकी नै फोहर, बालुवा तथा गिट्टी कुट्दैमा जान्छ”, परियारले भने, “बन्दाबन्दीको समयमा न फोहर नै आयो, न गिट्टी बालुवा नै बिक्री भयो, त्यतिबेला भोकै बस्नुको विकल्प थिएन ।” अन्य आम्दानीको स्रोत नभएका कारण समस्या झेल्दै आएका मजदुरका परिवारलाई बन्दाबन्दी बज्रपात भएको गौमती परियारले बताए ।
लकडाउनदेखि हालसम्म उनीहरूले राहतका नाममा कुश्मा नगरपालिका र बागलुङ नगरपालिकाले परिवारका आधारमा प्रदान गरेको पाँचदेखि २५ किलो चामलबाहेक अरु नपाएको गुनासो गरेका छन् । गत हप्ता मात्रै डम्पिङसाइटमा फोहर सङ्कलन गर्ने १२ मजदुर परिवारलाई रिड नेपाल र विद्यामन्दिर पुस्तकालयले संयुक्तरूपमा एक महिनालाई पुग्ने खाद्यान्न वितरण गरेको थियो ।
मालढुङ्गामा स्थानीयभन्दा बाहिरबाट आएर आश्रय लिने मजदुरका परिवार बढी भएका कारण त्यही मजदुरीसमेत प्रतिस्पर्धा भएका कारण अशक्त मजदुरको परिवार भोकै बस्नुपर्ने बाध्यता रहँदै आएको छ । बर्खाको समय कालिगण्डकी नदीको उर्लँदो भेलमा दाउरा टिपेरसमेत छाक टार्दै आएका मजदुरले बर्खाको समय ढुङ्गा र बालुवा निकाल्न कठिन हुने भएकाले अझै बढी समस्या भएको छ । डम्पिङसाइटमा कुहिएको खाद्यान्न बङ्गुर फार्मलाई र सङ्कलन भएको कवाडी बिक्री गरेर मजदुरहरूको जीवन गुजारा चल्दै आएको छ । पछिल्लो समय डम्पिङसाइटमा फोहर आउन थालेपछि केही राहत भएको मजदुरको भनाइ छ तर कालीगण्डकीको बहाव नघट्दासम्म बालुवा निकाल्न नपाउँदा अधिकांश मजदुर फुर्सदिला छन् ।