वीरगन्जमा ३ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौँ : नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा ३ जना स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी कोरोना विशेष अस्पतालका डाक्टर उदय नारायण सिंहले ३ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । सिंहका अनुसार नारायणी अस्पतालमा कार्यरत दुई डाक्टर र एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ थपिएका १५ जना संक्रमितमा एकजना बाराका, एकजना इलामका र अन्य पर्सा जिल्लाका रहेका छन् । उनीहरुमध्ये केहीमा कोरोनाको लक्षण पनि रहेको डाक्टर सिंहको भनाइ छ ।

बारा, पर्सालगायत प्रदेश २ का जिल्लाहरुमा नयाँ कोरोना संक्रमित थपिने क्रम बढ्दै गएको सिंहले जानकारी दिए ।
उनका अनुसार नारायणी कोरोना विशेष अस्पतालमा हाल ६१ जना कोरोना संक्रमित उपचाररत छन् । प्रदेश २ का जिल्लाहरुमा समुदायमा कोरोना संक्रमण देखिएको उनले बताए ।

समुदायमा कोरोना संक्रमण देखिएको भन्दै प्रदेश २ का जिल्लाहरुमा एक घर एक व्यक्तिको कोरोना परीक्षण शुरू भएको उनले जानकारी दिए ।