सगरमाथाको चुचुरोमा गरिएको कल्पनाको सङ्कल्प

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौं : विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्नु चानचनुे कुरा होइन् । हिम्मत गरेर आठ हजार ८४८ मिटर अग्लो चुचुरो आँक्नेमध्ये थोरैले मात्र पाइला टेक्न सक्छन् ।

हिउँको बाटो, हिउँको माटो, हिउँकै पहाड, हिउँकै जङ्घार, जताततै हिउँकै संसार । त्यही हिउँ संसारमा रम्न सक्ने दृढआत्मविश्वासको भारी बोकेर उकाली लाग्नुभयो ललितपुरकी कल्पना महर्जन । आधार शिविरबाट देख्दा, सेता हिउँमाझ सेतो गुराँस फुले झै अग्लिएको सगरमाथाले उनको मन हरेक पल मोहित पार्दैथियो । मनभित्रैबाट उब्जेको त्यही मोहको डोरीमा हिउँरेखामाझ तानिदैतानिदै उनी शिखरतर्फ लम्किए ।

नेपाल मोहडाको अनुभवको अर्को वर्ष तिब्बत मोहडाबाट विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण उनका लागि अर्को नौलो र आश्चर्य थियो । जब आठ हजार ३०० मिटरको उचाइँमा पुग्नुभयो । तब परिस्थितिले एक्कासी कोल्टे फे-यो । अक्सिजन सकियो । न त तल ओर्लिनु न माथि उक्लनु । चिसो सिरेटोले ओठ सुक्छ थाले । तलतल हिउँको फाँट । सेता कुहिरामा कहिले घाम कहिले छायाँ पर्दै गरेको दृष्य पनि उनलाई धमिलो लाग्न थाल्यो । अक्सिजन भएको आफ्नो टेन्टमा पुग्न सक्ने अवस्था थिएन । अक्सिजन लिन गएका सहयोगी फर्किएनन् ।

हिमाल आरोहण गर्दा धेरै मान्छे मर्छन् । कसरी मरे भन्ने खासै अभिलेख छैन । हिमाल चढ्ने मान्छे मर्ने या बाँच्ने ५०–५० प्रतिशत सम्भावना हुन्छ । सत्य स्वीकारेर आरोहण गरिन्छ । मनमा अनेक तर्कना खेल्दै गर्दा जीवनको अन्तिम क्षणमा तालिममा सिकेको कुरा झट्ट याद आयो, कल्पनालाई ।

कुनै घटना भयो भने त्यसबेला केही गर्न सक्ने अवस्था नहुँदा सक्किगो तर रेकर्ड गर्न, फोटो खिच्न, भिडियो गर्न सक्ने झिनो सम्भावनाको सकभर प्रयास गर्नुपर्छ । जसले मर्ने बेलामा पीडा हैन खुशी अनुभूत गराउँछ । तालिममा यस्तै यस्तै कुरा सिकाइएको थियो । त्यो पल स्मरण गर्दै उनले भने– “अब म मर्दै छु भन्ने अनूभूति भयो, अनि जीवनको अन्तिम क्षण सम्झेर सेल्फी भिडियो खिच्न थालेँ ।”

जीवनको त्यही अर्थपूर्ण घडीमा कल्पनाले आफूलाई बलियो बनाउनुभयो । आफु मरेको प्रमाण के त ? मरेपछि मेरो शरीर फिर्ता गयो भने मान्छेले कल्पना यसरी मरेकी रहिछ भन्ने कुरा थाहा पाओस् भनेर सेल्फी भिडियो लिएको उनले आफ्नो अनुभूति सुनाए । “म आठ हजार ३०० मा छु, अक्सिजन सकिएको छ, अहिले म अर्काको टेन्टमा छु, शेर्पालाई अक्सिजन खोज्न पठाएको छु, अक्सिजन पायो भने बाँच्छु नपाए मर्छु”, अभिलेख गरिएको भिडियोमा उल्लेख भएका शब्द सुनाए ।

त्यतीबेला उनी आफ्नो अक्सिजन भएको टेन्टमा पुग्न सकेकी थिइन् । धन्न ४५ मिनेटपछि अक्सिजन आयो र उनले नयाँ जीवन पाए । सगरमाथाको टुप्पोमा पुग्दा अलौकिन मात्रै लागेन नयाँ जीवनको शुरुवातको महुस गरे । उनका जीवनका आरोह अबरोह पुस्तकाकारका रुपमा पनि आउँदै छ । जीवनको अन्तिम सङघर्षको क्षण त्यो मात्रै होइन । धेरै ठक्कर र मृत्युको दोसाँधबाट उछिट्टिएर नयाँ जीवन पाएको उनले बताए ।

सगरमाथा चढ्नु अघि हरेक आरोहीले अन्य साना हिमाल चढेर तालिम लिनुपर्छ । त्यही सिलसिलामा उनले छ हजार मिटरको सोलुखुम्बुको मेरापिक चढ्दै थिए । पाँच हजार ३०० मिटरमा पुगेपछि लेक लागेर होस् गुम्यो । सात दिन कोमामा बस्नुपर्यो । सबैले आश मारेका थिए । तर, दैवले फर्काइदियो । आफ्नो जीवन नाफाको भएको बताउने कल्पनाले सगरमाथाको टुप्पोमा पुगेर लिइएको सङ्कल्प ‘शिक्षाको माध्यमले बालविवाह रोकथाम अभियान’ साकार पार्न थालेका छन् । “डेथ जोनमा पुगेको मान्छे फर्केर आएँ, मेरो तेस्रो जीवन हो, नाफाको जीवन समाजलाई दिन चाहन्छु”, कल्पनाले थपिन् ।

यसअघि पर्यटन विधामा पत्रकारिता गर्ने कल्पनाले ठुलो सङ्घर्षका साथ सन् २०१८ र २०१९ मा नेपाल र तिब्बतको दुबै मोहडाबाट सगरमाथा चढिन् । दुवै मोहडाबाट सगरमाथा चढ्ने पहिलो नेपाली महिला पत्रकार दावी गर्ने उनले ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम दर्ता गर्ने प्रक्रियामा रहेको बताए । संयोगले नेपाली र अङ्ग्रेजी एउटै मितिमा उहाँले सगरमाथा आरोहण गरे । दुवै वर्षको आरोहण अङ्ग्रेजी तारिख मे २३ थियो भने नेपाली मिति विसं २०७५–२०७६ को जेठ ९ नै परेको थियो ।

महर्जनलाई सगरमाथा टुप्पोमा चढ्दा जति खुसी थियो, अहिलेको बालविवाह रोकथाम अभियान थाल्दा उत्तिकै खुसी र समाजप्रतिको कर्तव्यबोध भएको अनुभव छ । सगरमाथाको टुम्पोलाई साछी राखेर गरिएको शिक्षामार्फत बालविवाह रोक्ने सङ्कल्पमा दरार आउन नदिने अठोट उनको छ । अभियान अहिले शुरुआती चरणमा छ । अझै धेरै काम गर्न बाँकी छ ।

समाजमा बढ्दो बालविवाह छ । अहिले त जन्मदर्ता लुकाएर बाल विवाह गरिन्छ । नेपालको कानुनले बन्देज लगाएकाले र समाजको निगरानी बढ्न थालेकाले भारतमा पुगेर विवाह गर्ने चलन बढेको छ । धेरै जसो बालविवाह गरीब अशिक्षित परिवारमा हुने गरेको देखिन्छ । मण्डपमा गएर केही विवाह रोक्दैमा र परिवारलाई भनेर मात्रै बालविवाह रोकिन्न । शिक्षाको ज्योतिबाट मात्रै रोक्न सकिन्छ भन्ने निधोका साथ कल्पनाले शान्ति शिक्षा अभियान नेपालका अध्यक्ष रविन्द्र महर्जनसँग मिलेर एउटा अध्याय शुरु गरेकी हुन् ।

मानिस शिक्षित छ भने कसैको दवावमा पर्दैन । ऊ आफैँ निर्णय गर्न सक्छ भन्ने विश्वास उनीहरुलाई छ । त्यसैले मुख्य प्राथमिता शिक्षा हो । त्यसमा पनि शिक्षकबाटै अभियान चलाए सम्भव छ । बालबालिकाले असल शिक्षा पाउनका लागि पहिलो शिक्षकले सिक्नुपर्छ । सुधार शिक्षकबाट थाल्नुपर्छ अनि विद्यालय, त्यसपछि बल्ल बालबालिका हो । “लौरो, डस्टर र चक शिक्षकको हतियार होइन, हतियार भनेको खेल्दै सिक्ने शिक्षा प्रणाली हो, व्यवहारिक ज्ञान हो”, संस्थाका अध्यक्ष महर्जन भनिन् ।

भानुदयबाट शुरु भएको अभियान

ललितपुर जिल्लाको महाङ्काल नगरपालिका–६ मा रहेको भानुदय आधारभूत विद्यालयबाट कल्पनाले सङ्कल्प पुरा गर्ने अभियान थालेकी छन् । तालमिप्राप्त विद्यालय व्यवस्थापक सगेन्द्र श्रेष्ठलाई स्कुलमा परिचालन गरिएको छ । काम शुरु गर्दा १५ जना बालबालिका थिए । अहिले १८० जना पुगेका छन् । गाभिन लागेको स्कुलको साख यही कार्यक्रमले बचेको दावी गरे, श्रेष्ठ । उनले नीजि¬सरकारी–साझेदारीमा जरादेखि नै स्कुल परिवर्तनमा आफुले भूमिका रहेको बताइन् ।

“स्कुलमा परीक्षणका रुपमा काम थालेका छौँ, त्यसको नतिजाको आधारमा विपन्न परिवारका बालबालिका पढ्ने अन्य १२६ स्कुलमा कार्यक्रम चलाउने योजना छ, गरे सम्भव छ, हामी सक्छौँ”, कल्पनाले आगामी योजना सुनाउँदै भनिन् । आफु पढेको स्कुलबाट उनले पहिलो अभियान थालेकी हुन् तर, आफुलाई धेरैको साथ आवश्यक रहेको उनले बताए ।

उक्त कार्यक्रम समिट एयरले दिएको प्रतियात्रु पाँच रुपैयाँ सहयोगले धानेको छ । शान्ति शिक्षा अभियानले कोल्याब्रेटिभ स्कुल नेटवर्कसँग सहकार्य गरेर स्कुलमा काम थालेको हो । सगरमाथा आरोहणको अनुभव सुनाउन कहिलेकाहीँ उत्प्रेरणामुलक कार्यक्रम हुन्छ । त्यहाँबाट आएको पैसा र गाइड काम गर्दा चिनेजानेका स्वदेशी विदेशीबाट केही सहयोग प्राप्त हुन्छ । त्यही पैसा परिचालन हुन्छ ।

मुलुकमा अहिले चलिरहेको शिक्षा प्रणालीलाई उनीहरु घोकन्ते विद्या हो भने । त्यसबाट शिक्षामा आमुल परिवर्तन गर्न सकिँदैन । शिक्षक, शिक्षा प्रणालीदेखि समाज नै परिवर्तन गर्न जरुरी रहेको महर्जनले बताइन् । अभियानमा उहाँहरुले शिक्षकसँगै आफैँ बाल विवाहको अनुभव लिएका महिलालाई नै सहभागि गराउने योजना छ । अभियानका अध्यक्ष महर्जन भन्छिन्–“शिक्षक बलियो भयो भने कल्पना गरेको समाज निर्माण गर्न सम्भव छ ।”

हाल अभियान चलाएको विद्यालयमा शिक्षकलाई पनि आचारसंहितामा बाँधिएको छ । शिक्षकको हाजिरी, बालबालिकाको उपस्थिति, परीक्षा प्रणाली, बैठक सबै लिखितरुपमा अभिलेख राखिन्छ । कमि कमजोरी के भयो ? स्कुल मै छलफल गरी मुल्याङ्कन गरिन्छ । समग्र विद्यालय व्यवस्थापनको अबस्था के छ ? के सुधार गर्नुपर्छ ? र के राम्रो छ ? सबै मुल्यङ्कन गरेर कार्ययोजनाका साथ अघि बढ्दा क्रमशः सुधारका सङ्केत देखिन थालेको महर्जनको अनुभव छ । उक्त विद्यालयका प्रधानाध्यापक बहादुर महर्जन दुवै संस्थाको सहकार्यमा स्कुलमा आमूल परिवर्तन भएको अनुभव सुनान्छिन् । कुनै बेला बन्द हुन लागेको स्कुलमा अहिले नर्सरी कक्षादेखि ६ सम्म पढाइ हुन्छ ।

शान्ति शिक्षा अभियान

शान्ति शिक्षा अभियान नेपालले झण्डै एक दशक अघि अघिदेखि काम गर्दै आएको थियो । ललितपुरको इमाडोलका रविन्द्र महर्जनको अगुवाइमा बुढानीलकण्ठ स्कुलका सात जना विद्यार्थी मिलेर शुरु गरिएको थियो । सरकारी स्कुल र नीजि स्कुलको पठाइमा हुने अन्तर घटाउने उद्देश्य राखेर अभियान थालिएको थियो ।

रविन्द्रको समुहले दाताको सहयोग लिएर सिन्धुपाल्चोकको राम्चेमा तीन कक्षासम्म पढ्ने स्लुक नै बनाएका थिए । पर्यटक पथपर्दशक महर्जनसँग बेलाबेलामा विदेशी ठोक्किन्थे । योजना सुनेपछि मन पग्लेर विदेशीले केही रकम दिन्थ्ये । त्यही पैसा शिक्षाको विकासमा लगानी गरिन्थ्यो । एक दिन अमेरिकन नागरिक क्रिष्टोफरले दिएको १५० डलरले राम्चेको स्कुलको जग खनिएको थियो । स्कुल पूर्ण हुँदा ४३ लाख लाग्यो । त्यो पैसा जुटाउन परेको सकस अहिले पनि उनी झलझली सम्झिन्छन् ।

अभियानमार्फत संस्थाले स्कुल शिक्षाका लागि २५० भन्दा बढीलाई प्रशिक्षण दिइसकेको छ । स्वदेशी र विदेशी स्वयंसेवक शिक्षक परिचालन गर्ने गरेको छ । संस्थाले विभिन्न १४ भन्दा बढी स्कुमा फर्निचर सहयोग गरेको छ । बालविकास तालिम दिने गरेको छ । भुकम्प अघि १८ वटा स्कुलमा भवन बनाएको संस्थाले भूकम्पपछि २४ वटा स्कुलको पूनःनिर्माण गरेको महर्जन सुनाउछिन् । रासस